धनगढीमा हुने राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी : कैलालीको धनगढीमा हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रीमियर लिग (आरपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । आगामी मंसिर १८ देखि पहिलो संस्करणको रूपमा हुन लागेको आरपिएलको एक कार्यक्रमकाबीच आज (शनिबार) ट्रफी सार्वजनिक गरिएको हो ।

राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदै छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार, उत्कृष्ट ब्याटर र बलरलाई दुई–दुई हजार तथा उदयमान खेलाडीलाई १५ सय प्रदान गरिने छ । पहिलो संस्करणमा २४ टिम सहभागी हुने छन् ।
कक्षा ८ भन्दा तलका विद्यार्थीहरूको सहभागिता हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए । क्रिकेटको सहरमा क्रिकेटको माहौल कम भएपछि विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

ग्रास रुटबाट उदाएका क्रिकेट खेलाडीहरू अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै उनले आफूहरूले आयोजना गर्न लागेको प्रतियोगिताले थप खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले प्रतियोगिताको तीव्र तयारी भइरहेको भन्दै क्रिकेटको सहरमा अर्को क्रिकेटको उत्सव हुन लागेको बताएका थिए । उनले वर्ष प्रतियोगिता आयोजना गरिने बताएका थिए ।
बालमिकी स्कुलका अध्यक्ष दिनेश भण्डारी र निसर्ग अस्पतालका सञ्चालक तीर्थराज पन्तले प्रतियोगिताको सफलताको कामना गर्दै आरपिएलले धनगढीको क्रिकेट विकासमा टेवा पुराउने बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.