बाजुरा : नेकपा एमाले बाजुराले पार्टीको ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका हुन् । खुला, महिला, दलित र युवा कोटा गरी १६ जना प्रतिनिधी सर्वसम्मत छानिएको प्रतिनिधी छनोट निर्वाचन समिति संयोजक मदनराज जैशीले बताएका छन् ।
प्रतिनिधी हुनेमा खुला तर्फ ७ जना छानिएका छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । भने महिला ४ जनामा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ छानिएका हुन् । दलित तर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की छानिएका छन् । ४० वर्ष मुनिको युवा कोटा नरेश रोकाया सर्वसम्मत बनेका छन् । रोकाया अनेरास्ववियुको अध्यक्ष हुन उमेर हदका कारण रोकिएका थिए ।
नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् । शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ ।