काठमाडौं : पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘कमब्याक’ गरेको छ।
शनिबार भएको पहिलो खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको हो। लुम्बिनीसँगको हारले पोखराको प्लेअफको बाटो कठिन भएको छ।
लुम्बिनीले अब प्लेअफ खेल्न बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ। लुम्बिनीले भने अब बाँकी दुई खेल जितेमा प्लेअफको यात्रा सहज हुनेछ।
लुम्बिनीले पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेलमा हार भागेको छ। लुम्बिनीले अब विराटनगर किंग्स र जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनीसँगको हारले पोखराको प्लेअफ पुग्ने बाटो कठिन बनेको छ। पोखराले लिग चरणमा चारमध्ये एक खेलमा जित र तीन खेलमा हार भोगेको छ। अब पोखराले मंगलबार कर्णाली याक्ससँग र बिहीबार काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा शनिबार चितवन राइनोजसँग भिड्नेछ।
पोखराले दिएको एक सय ५१ रनको लक्ष्य लुम्बिनीले दुई बल अगावै सात विकेटको क्षतिमा पूरा गरेको हो। लुम्बिनीका सन्दीप जोरा २५ र शेर मल्ल एक रनमा अविजित रहे।
कप्तान रोहित पौडेल ३६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रन बनाउँदा सागर ढकालको बलमा विपिन खत्रीको हातबाट क्याच आउट भए। २२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका निरोसन डिकवेला म्याट टेलरको बलमा विकेट किपर एडम रोसिङटनबाट आउट हुन पुगे।
दिलीप नाथ १० रन बनाउँदा सागर ढकालको बलमा बोल्ड आउट भए। आर्सी सर्ट सात र सुमित महर्जन शून्यमा पेभेलियन फर्के। गुल्बदिन नइब १७ रन बनाउँदा क्याच आउट भए।
पोखराका लागि सागर ढकाल, विपिन खत्री र म्याट टेलरले दुई–दुई विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पाँच विकेटको क्षतिमा एक सय ५० रनको योगफल तयार पारेको थियो। पाचौँ विकेटका लागि एडम रोसिङटोन र जिम्मी निसमले ९२ रनको साझेदारी गरे। ६३ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ८१ रन बनाउँदा एडम क्याच आउट भए। एडमले ५२ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
जिम्मी निसम ५१ र किरण ठगुन्ना एक रनमा अविजित रहे। जिम्मीले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। ओपनर दिनेश खरेल सात रन बनाउँदा शेर मल्लको बलमा रोहित पौडेलको हातबाट क्यात आउट भए। कप्तान कुशल भुर्तेल गोल्डेन डकआउट भए। कुशल लगातार दुई खेलमा गोल्डेन डडआउट भएका हुन्।
सुमित बर्मा पनि डक आउट भए। तृतराज दास एक रन बनाउँदा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए। गुल्बदिन नइबले एक विकेट लिए।
आजै अर्को खेलमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र पुछारको जनकपुर बोल्ट्स भिड्नेछन्। जनकपुर र सुदूरपश्चिम गत सिजनको विजेता र उपविजेता टोली हुन्।