बजेट अभावमा ६ लेन सडकका पुल निर्माण सुस्त

अत्तरिया : अत्तरिया–धनगढी ६ लेल सडकमा पुल निर्माण कार्य सुस्त छ । सडक निर्माण सुस्त हुँदा दुर्घटनाको पनि जोखिम बढेको छ । साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको हो ।

मोहनापुल ६ लेन सडकमा निर्माणाधीन दुई पुल निर्माणको कामले गति लिन सकेको छैन । सो सडकखण्ड अन्तर्गत पर्ने त्रिनगर भन्सारको मोहना र गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल बजेट अभावका कारण गति लिन नसकेको हो ।
विसं २०७८ देखि निर्माण सुरु गरिएको पुल सुरुमा निर्माण कम्पनीले ढिलो गर्दा र पछिल्लो पटक आवश्यकताभन्दा कम बजेट विनियोजन हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको महाकाली पुल आयोजना कार्यालयका इञ्जिनियर सन्तोष चन्दले बताए । त्रिनगर भन्सार नाका पर्ने मोहना नदीमा पुल निर्माणका लागि विसं २०७८ माघमा राइमाझी कन्ट्रक्सनसँग २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी रु १३ करोड ३६ लाखमा सम्झौता भएको उनले जानकारी दिए ।

दोस्रो पटक म्याद थप गरिएको सो पुलको भौतिक प्रगति ५० प्रतिशत र पुल निर्माणमा हालसम्म नौ करोड रुपैयाँ भुक्तानी भइसकेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो पटक थपिएको म्याद २०८२ चैत २८ गतेसम्म रहेको छ । मोहना पुलको लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन भएको बताउँदै इञ्जिनियर चन्दले बजेट भए यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न सकिने उनले जानकारी दिए ।

गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल निर्माणका लागि २०७८ माघमै उच्चाकोटी–शनिदेव–साजेन्द्रलाई आठ करोड ५० लाख रुपैयाँमा दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको थियो । दोस्रो पटक म्याद थप गरिएको उक्त पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको छ । यो पुलको पिलर हाल्ने काम सम्पन्न भएको इन्जिनियर चन्दको भनाइ छ । उक्त पुलका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको योजना कार्यालयले जनाएको छ ।

उनले भने, ‘दुवै पुलमा माथि स्ल्याब हाल्ने काम सुरु गरिएको छ । बजेट व्यवस्थापन हुन सके यसै आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न गर्न सकिने अवस्था छ । आयोजना कार्यालयका अनुसार गोदावरी नगरपालिका–५ स्थित सुनी खोलाको पुलको तीन करोड ५० लाख रुपैयाँमा सम्झौता भएकोमा निर्माण कार्य सम्पन्न भइ गत असार मसान्तबाट पुल सञ्चालनमा आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.