अत्तरियामा पुस ९ गते देखि सृजनशील गोदावरी सांस्कृतिक महोत्सव लाग्ने

अत्तरिया : कैलालीको अत्तरियामा पुस ९ गतेदेखि १९ गतेसम्म सृजनशील गोदावरी सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। सृजनशील युवा क्लबले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको औपचारिक घोषणा गर्दै यस वर्षको कार्यक्रमलाई सांस्कृतिक, मनोरञ्जनात्मक तथा आर्थिक गतिविधिसँग जोडेर अघि बढाइने जानकारी दिएको हो ।

क्लबका अध्यक्ष नर बहादुर राईका अनुसार महोत्सव अत्तरियाको पूर्व–रोडस्थित खुल्ला चौरमा सञ्चालन हुनेछ। महोत्सवलाई सहज र सबैको पहुँचमा ल्याउन विद्यार्थीका लागि टिकट मूल्य ५० रुपैयाँ र अन्यका लागि सय रुपैयाँ तोकिएको छ।

राईका अनुसार महोत्सवको मुख्य प्रायोजक भने अझै टुंगो नलागेपनि, विभिन्न स्थानीय संस्था र व्यवसायीसँग सकारात्मक छलफल भइरहेको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय लोकप्रिय कलाकारहरूको प्रस्तुति, परम्परा झल्किने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, हस्तकला तथा कला–संस्कृति समेटिने सामग्रीहरूको प्रदर्शनी रहनेछ। यसले स्थानीय पर्यटन, व्यापार र संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष राईले महोत्सव सफल बनाउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गर्दै अगाडि भने “यो महोत्सव हाम्रो पहिचान, संस्कृतिको संरक्षण र स्थानीय विकासमा ठूलो टेवा पुग्ने कार्यक्रम हो ।,”
सृजनशील युवा क्लबले यसअघि २०६६ सालदेखि २०७१ सम्म निरन्तर महोत्सव आयोजना गरेको थियो। २०७२ सालमा क्लबले कार्यक्रम अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरे पनि विभिन्न कारणले संघले निरन्तरता दिन नसकेपछि क्लबले पुनः महोत्सव सुरु गर्ने निर्णय गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.