अत्तरिया : धनगढीमा आज (सोमबार) देखि महोत्सव सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशकै ठूलो आर्थिक तथा व्यापारिक उत्सवका रूपमा परिचित १९ औँ सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न अर्थमन्त्री रामेश्वर खनालले गर्ने भएका छन् ।
आज विहान आयोजकले झाकी सहित धनगढी ट्राफिक चौराहबाट प्रभात फेरि निकाल्ने छ । दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको महोत्सव धनगढी–१ पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना हुँदैछ ।
महोत्सवका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । “स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सुदूरपश्चिमको आर्थिक चलायमानता बढाउने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष ओझाले भने ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योग व्यवसायका स्टलहरू, कृषि उत्पादन प्रदर्शनी, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, पर्यटनसम्बन्धी प्रदर्शनी लगायत रहने छन् । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद तथा बाल उद्यान पनि समावेश गरिने आयोजकले जनाएको छ ।
यस महोत्सवले स्थानीय रोजगारी सिर्जना, व्यापार व्यवसाय प्रवद्र्धन तथा आर्थिक गतिविधि बढाउने विश्वास आयोजकले लिएको छ । महोत्सव सञ्चालन अवधिभर हजारौँ दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सुरक्षा व्यवस्था, सरसफाइ, पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन तथा सुरक्षानिकायसँग सहकार्य गरिएको आयोजक समितिले जनाएको छ ।
बालबालिका तथा खेलप्रेमी दर्शकका लागि यस वर्ष महोत्सवमा नयाँ ‘एक्सप्रेअर्म’ मनोरञ्जन सुविधा थपिएको छ । अध्यक्ष ओझाले महोत्सवलाई भव्य रूपले सफल बनाउन सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, पत्रकार, विद्यार्थी, उद्यमी व्यवसायी र सर्वसाधारणलाई सक्रिय सहभागिताको आग्रह गरेका छन् । महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई. सय रुपैयाँ र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति : निःशुल्क गरिएको छ । उद्योग वाणिज्य संघका सदस्यहरूलाई निःशुल्क प्रवेश गरिएको छ ।
डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न संघले इसेवासँग अनलाइन टिकट पार्टनरशिप गरेको छ । अब मोबाइलबाटै इसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट प्राप्त आयमध्ये केही रकम महिला सशक्तीकरण र लागू औषध दुरुपयोग नियन्त्रण जस्ता क्षेत्रमा खर्च गरिनेछ । करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने महोत्सवबाट १५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ भन्ने अनुमान आयोजकले गरेको छ । यस वर्ष करिब ७ लाख अवलोकनकर्ता भित्रिने अपेक्षा गरिएको छ ।