प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बाजुराका नेता बद्री पाण्डेको घोषणा

बाजुरा : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उम्मेदवार सिफारिस प्रक्रियाका नेपाली कांग्रेस बाजुराले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पाण्डेले पार्टी बलियो बनाउने अरु जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् ।

२०७९ को निर्वाचनमा बाजुराबाट निर्वाचित भएका पाण्डे अब हुने चुनावमा आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरुलाई मौका दिने बताएका छन् । आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिदै चुनाव नलड्ने उनले बताए । पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तक्र्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको बताएका छन् । उनका अनुसार अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने, तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पु¥याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ ।

पूर्व मन्त्री पाण्डेले आफ्नो कार्यकालमा नितिगत स्थिरता, पारदर्शिता, रचनात्मकता, निजी क्षेत्रको सहभागीता, तथा बजेट र स्रोतहरूको समानुपातिक वितरणलाई प्राथमिकतामा राखेर काम गरेको विषय राष्ट्रिय मुल्याङ्कनमा विशिष्ट श्रेणी सहित उत्कृष्ट तथा ‘पर्यटन मन्त्री वर्ष ‘ पुरस्कारबाट सम्मानित भएका उनले जिल्लाका जनताले माग गरे अनुसार आवश्यक स्रोत उपलब्ध गराउन नसकिएको भए पनि यथाशक्य प्रयास यस कार्यकालमा निष्ठापुर्वक लागि परेको पनि नेता पाण्डेले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.