धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सव (आज) शनिबार विशेष प्रस्तुति कार्यक्रमसहित थप रंगिन हुनेछ । महोत्सवको छैटौँ दिन आज लोकप्रिय गायक प्रकास सपुतलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत रहने आयोजकले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुदूरपश्चिम महोत्सव सञ्चालन भईरहेको छ । कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकास चन्दका अनुसार आज सपुतसँगै शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारले पनि आफ्ना दमदार कला प्रस्तुत गर्नेछन् ।
संगीतसँगै ग्ल्यामरको रौनक थप्ने उद्देश्यले चर्चित मोडल पुस्पा कडैलाको पनि विशेष प्रस्तुति रहने चन्दले जानकारी दिए । मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ । आजको कार्यक्रममा अझै बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन् ।
महोत्सवका विभिन्न स्टल, स्थानीय उत्पादन, सांस्कृतिक झाँकी, बाल–मनोरञ्जन कार्यक्रमसँगै राष्ट्रिय कलाकारको उपस्थिति थप आकर्षण बनेको आयोजक संघले जनाएको छ ।
सुदूरपश्चिमको पर्वका रुपमा स्थापित महोत्सव मनोरञ्जनका साथै आर्थिक गतिविधिहरु बढाउने एक महत्वपूर्ण कडीका रुपमा आयोजकले लिएको छ ।