काठमाडौँ : नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट उम्मेदवार बन्न लागेका लेखराज भट्ट र भानुभक्त ढकालको पद साटफेर गरिएको छ।
सोमबार बिहान ओली पक्षले जारी गरेको पदाधिकारी सूचीमा भट्टलाई सचिव र ढकाललाई उपमहासचिवमा उम्मेदवार बनाउने उल्लेख थियो। त्यसमा भट्टले असन्तुष्टि जनाउँदै फेरि सचिवमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए।
त्यसपछि उनी अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए। ओलीसँगको भेटघाटपछि भट्टलाई उपमहासचिव बनाउने तय भएको छ। ‘म अब उपहासचिवमा उठ्ने भएँ,’ भट्टले भने, ‘अध्यक्षज्यू उपमहासचिव उठ भन्नुभएको छ।’
भट्ट उपमहासचिवमा उम्मेदवार बन्नेपछि ढकाललाई सचिवमा उम्मेदवार बनाउन लागिएको ओली निकट नेताले बताएका छन्। ढकाल यसअघि स्थायी कमिटी सदस्य थिए।