बाजुराका रोकाया सर्वसम्मत निर्वाचित भए एमाले केन्द्रिय सदस्यमा

धनगढी  : बाजुराका नरेश रोकाया नेकपा एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । भृकुटीमण्डपमा जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा रोकायाले खुला युवा कलष्टरमा उम्मेदवारी दिएका थिए।

दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेका कारण दुवै जना सर्वसम्मत चयन भएका हुन्।

३२ बर्षीय रोकाया र दैलेखबाट प्रतिनिधित्व गर्ने थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएका थिए । तर अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उक्त कलष्टरमा उम्मेदवारी नै नपरेपछि सर्वसम्मतको अवस्था बनेको थियो।

अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य रहेका थापा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य छन् भने २०७४ सालमा उनी प्रदेश सभा सदस्य समेत बनेका थिए।बाजुराका रोकाया भने अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।

ध्यक्षको दाबेदार रोकाया संगठनमा लगाइएको ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका थिए । तर, ३८ वर्षीय उनै रोकाया अहिले भने पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध भएपछि पार्टी नेताको भूमिकामा आइपुगेका छन्।

‘मैले दुई दशकसम्म अनेरास्ववियु मार्फत विद्यार्थीको आवाज बनेर उनीहरुको भावना र मुद्दा बोकेर काम गरेँ । अब भने जनताको मुद्दा लिएर अघि बढ्छु,’ रोकायाले भने, ‘पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै युवाको बढी भन्दा बढी प्रतिनिधित्व गर्ने काममा लाग्छु।’

बाजुराको गौमुल गाउँपालिका–३ स्थायी बसोबास भएका रोकाया २०६१ सालदेखि पूर्णकालीन राजनीतिमा छन् । १३ वर्षको उमेरमा २०५६ सालमा बाल विकास माध्यमिक विद्यालयबाट अनेरास्ववियुमा आवद्ध भएका थिए।

त्यो बेला विद्यालयको प्रारम्भिक कमिटीको सचिवमा संगठित भएका रोकाया २०६० सालमा अनेरास्ववियुको बाजुरा जिल्ला सदस्य बनेका थिए । २०६२ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य भएका उनी २०६७ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका थिए।

२०७० सालमा पुनः केन्द्रीय कमिटी सदस्यमै दोहोरिए । २०७२ सालमा केन्द्रीय सचिवालय सदस्य, २०७५ सालमा स्थायी कमिटी सदस्य र २०७८ सालमा उपमहासचिव पदमा निर्वाचित भएका थिए । २०७९ सालमा महासचिव बनेका रोकाया उमेरहदका कारण संगठनबाट बिदा भएका थिए।

विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका रोकायाले पाटीको ११औँ राष्ट्रिय महाधिवेशनबाट भने केन्द्रीय कमिटीको यात्रा तय गर्दै नयाँ जिम्मेवारी पाएका छन् । रोकायाले केन्द्रीय सदस्यको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.