जेनजी आन्दोलन देश अपहरण गर्ने विरुद्धको विद्रोह हो ः खगेन्द्र सुनार : हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशलाई अपहरण गर्ने प्रवृत्तिविरुद्ध जनताले पुराना राजनीतिक दलहरूको जग भत्काइसकेको बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारले कांग्रेस, एमाले र माओवादीजस्ता दलहरूलाई जनताले लखेटिसकेको दाबी गरे।
उनका अनुसार वर्तमान संविधान जनमैत्री हुन आवश्यक छ र सम्भव भएसम्म संविधान संशोधनमार्फत अघि बढ्ने पक्षमा हाम्रो पार्टी नेपाल रहेको बताए । “समयको मागअनुसार नै हाम्रो पार्टी खोलिएको हो,” उनले भने, “हाम्रो पार्टीमा कार्यकर्ता हुँदैनन्, सचेत नागरिक हुन्छन्।”
पार्टी सभापति सुनारले पुराना दलहरूले विगतदेखि नै सिंहदरबार र अदालतभित्र आगो लगाउने काम गरिसकेको आरोप लगाए। उनले जेन–जी आन्दोलनमा सहभागी भएकाहरूलाई छानीछानी मुद्दा चलाइनु स्विकार्य नहुने स्पष्ट पारे।
दलितको नाममा राजनीति गर्ने प्रवृत्तिको आलोचना गर्दै , केही दलितहरूले पनि दलितको नाममा राजनीति गरेर वर्षौंदेखि दलितमाथि नै शासन गर्दै आएको प्रति खेद प्रकट गरे । उनले पत्रकार सम्मेलन मार्फत अब पहिचानभन्दा माथि उठेर देश निर्माणलाई केन्द्रमा राख्ने राजनीति आवश्यक रहेको समेत दाबी गरे ।
हाम्रो पार्टी नेपालले जनताको पक्षमा उभिने, संविधानलाई जनमैत्री बनाउने र पुरानो राजनीतिक संरचनालाई परिवर्तन गर्ने एजेन्डासहित अघि बढ्ने जनाएको छ।
आगामी फागुन २१ मा हुने चुनाव पनि समयमै हुने हाम्रो पार्टी नेपालका सभापति सुनारको अभिव्यक्ति थियो। आफूहरू पनि सरकार समर्थक रहेकाले चुनाव सम्पन्न गर्नको लागि लागिपरेको समेत बताए। पूर्वदेखि पश्चिमसम्मका वैकल्पिक शक्ति एक हुने कुरामा पनि आफू सहमत रहेको र निरन्तर प्रयासमा रहेको बताएका छन्।