अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा स्थानीयले तालाबन्दी गरेका छन् । गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन । डीडीसी अत्तरियाबाट धनगढी सार्ने तयारी सुरु भएपछि विरोधस्वरूप स्थानीयले कार्यालयमा प्रवेश रोक्दै तालाबन्दी गरेका हुन् ।
स्थानीयले डीडीसीमा जडान भएका उपकरण सार्न थालिएपछि तत्काल रोक लगाएका थिए । विरोधका क्रममा ल्याइएको क्रेन र ट्रकलाई पनि फिर्ता पठाइएको छ । स्थानीय तारा देवी महराका अनुसार, विगत एक वर्षदेखि डीडीसी अत्तरियामा रहोस् भन्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए । तर, जानकारी बिना डीडीसी सार्न थालिएको पाएपछि उनीहरूले उत्पादन कक्षमा तालाबन्दी गरेका हुन् ।
गाउँकी गीता चौधरीले उद्योगका सामान पनि सार्न थालिएको पाएपछि तत्काल विरोध व्यक्त गरिन् । उनका अनुसार, डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिका र वडा कार्यालयले बेवास्ता गरेको कारणले पनि तालाबन्दी गरिएको हो ।
वडा नम्बर–१ का वडाध्यक्ष गोपाल दत्त भट्टले भने, “डीडीसी सार्न नदिने हाम्रो चाहना यथावत् छ । डीडीसीको दोहोरो चरित्रका कारण आवश्यक जग्गा उपलब्ध गराउन सकिएन । हामीले कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नआएपछि सार्ने प्रक्रिया सुरु भएको हो ।” उनले डीडीसीका जिएमले ४० लाख रुपैयाँ र १० बिगाहा जग्गा उपलब्ध गराउन दबाब दिएको दाबी गरे ।
गत वर्ष पुसमा डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेको थियो । विरोध स्वरूप गोदावरी–१ का वडाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो जसले डीडीसीको लागि आवश्यक जग्गा नगरपालिका क्षेत्रमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
स्थानीयको विरोध र तालाबन्दीले डीडीसीको सार्ने प्रक्रिया अस्थायी रूपमा रोकिएको छ र आगामी दिनमा समाधानको खोजी हुने अपेक्षा गरिएको छ ।
