अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा फेरि वन फँडानी र काठ तस्करीको घटना दोहोरिएको छ । डिभिजन वन कार्यालय धनगढीको टोलीले चुरे–२ रानी भुकुडा क्षेत्रको झरना सामुदायिक वनमा छापा मार्दा करिब २०० वटा चिरान गरिएका सालका कडी, फन्टा र फ्रेम बरामद गरेको हो ।
वन अधिकृत रामविचारी ठाकुरका अनुसार तस्करहरूले हरिया सालका रुख काटेर वनभित्रै चिरान गरी लुकाएका थिए । प्रारम्भिक अनुगमनले संगठित रूपमा वन विनाश भइरहेको संकेत दिएको छ । बरामद कार्यमा खैराला सब–डिभिजन वन कार्यालयका वन अधिकृत, रेन्जर र सशस्त्र वन रक्षकहरूको टोली सक्रिय भएको थियो ।
काठसँगै प्रयोग भएका औजार र तस्करीसँग सम्बन्धित प्रमाण संकलन भइरहेको छ । डिभिजन वन कार्यालयले सो क्षेत्रमा अझै काठ लुकाइराखिएको हुनसक्ने आशंकामा खोजतलास र निगरानी जारी राखेको छ ।
चुरे क्षेत्र पर्यावरणीय दृष्टिले संवेदनशील भएकाले वन विनाशले भू–क्षय, पहिरो र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढाएको विज्ञहरूले चेतावनी दिएका छन् । वन प्रशासनले गस्ती, निगरानी र आकस्मिक छापामार अभियान कडा जनाएको छ ।