अत्तरियाका युवा समाजसेवी दुर्गा अधिकारीद्वारा सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटमा ५ विद्यार्थीको शुल्क व्यहोर्ने घोषणा

अत्तरिया : अत्तरिया सृजनशील युवा क्लबका सदस्य तथा समाजसेवी युवा दुर्गा अधिकारीले सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटमा आर्थिक रूपमा कमजोर ५ जना विद्यार्थीहरुको क्रिकेट प्रशिक्षण शुल्क व्यहोर्ने घोषणा गरेका छन्।

क्रिकेट खेलप्रति रुचि राख्ने तर आर्थिक अवस्थाका कारण अवसरबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गर्दै अधिकारीले उनीहरूले प्रशिक्षण लिन चाहेको अवधिसम्म मासिक शुल्क निरन्तर तिरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
क्रिकेट स्कूलका सञ्चालक तथा प्रशिक्षक रजत शाहीले समाजसेवी अधिकारीको योगदानले क्रिकेटप्रति विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने बताउँदै क्रिकेट स्कूल सञ्चालन तथा खेलमा सहयोग पुगेको बताएका छन्।

सृजनशील युवा क्लबद्वारा आयोजित सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको अवसरमा सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेटको तर्फबाट दुर्गा अधिकारीलाई सम्मान समेत गरिएको छ।
सिवाईसि अत्तरिया स्कूल अफ क्रिकेट सृजनशील युवा क्लब अन्तर्गत सञ्चालन भइरहेको खेल संस्था हो। जसले स्थानीय स्तरमा क्रिकेट खेलको विकास र युवा प्रतिभा उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.