अत्तरिया : गोदावरी नगरपालिका अत्तरियामा आयोजना गरिएको सृजनशील गोदावरी सांस्कृतिक महोत्सव उत्साहजनक रुपले सम्पन्न भएको छ ।
पुस ९ गते देखि सृजनशील युवा क्लवद्वारा आयोजित महोत्सव १२ दिन सम्म संचालन भएर सोमबार समापन गरिएको हो । समापन दिन सोमबार चर्चित कलाकार दुर्गेश थापा लगायत कलाकारहरुको बेजोड प्रस्तुति सँगै महोत्सवको समापन गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले महोत्सवले सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, भेषभूषा र पहिचान संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
उपकुलपति जोशीले आयोजक सृजनशील युवा क्लबको स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय योगदान रहेको उल्लेख गर्दै यस क्षेत्रको पहिचान स्थापित गर्न तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले यस्ता महोत्सवले स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने धारणा राखेका थिए ।
उनले महोत्सवमार्फत थुप्रै कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएको बताउँदै यसलाई नमूना महोत्सवका रूपमा आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले कला, संस्कृति, संगीत तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु-याएको बताउँदै महोत्सव भव्य र सफल रूपमा सम्पन्न भएको अनुभूति भएको बताए ।
समापन समारोहमा महोत्सव संयोजक तथा क्लबका अध्यक्ष नर बहादुर राईले महोत्सव आयोजना गर्न सहयोग गर्न हुने सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिए । उनले गोदावरी नगरपालिका क्षेत्रको पहिचान, प्रतिष्ठान सांस्कृतिक झल्काउने जमर्क साथै अत्तरियालाई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्नु, स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्नु, युवाहरूको सृजनशीलतालाई मञ्च प्रदान गर्नु तथा सामुदायिक एकता सुदृढ गर्नु महोत्सवको मुख्य उद्देश्य साथ सञ्चालन गरिएको बताए । महोत्सव एक लाख बढी दर्शकहरुले अवलोकन गरेको आयोजकको भनाई रहेको छ ।