धनगढी : राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ।
सुदूरपश्चिम निर्वाचन कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका मतदान गरिरहेका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डका कारण निलम्बनमा परेका छन् भने डाक्टर तारा जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएकाले मतदानमा सहभागी नहुने भएका छन् ।
यस्तै, प्रदेशका ८८ स्थानीय तहका १७६ प्रमुख–उपप्रमुखमध्ये १७३ जनाले मात्रै मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभाका २ पदका लागि ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खाती उम्मेदवार छन्, जो पूर्व महान्यायाधिवक्ता समेत हुन् । नेकपा एमालेबाट कैलालीकी लिला भण्डारी उम्मेदवार बनेकी छन्, उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्व माओवादी हुन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन रहेकाले यी दुई दलका उम्मेदवारको जित लगभग निश्चित देखिएको छ । यसअघि निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि नयाँ निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि स्थानीय तहबाट १ सय ७३ जना र प्रदेश सभा सदस्यतर्फ ५१ जना गरी कुल २ सय २४ मतदाता रहेका छन् । मतभारका हिसाबले स्थानीय तहतर्फ ३ हजार २८७ र प्रदेश सभा सदस्यतर्फ २ हजार ७०३ गरी जम्मा ५ हजार ९९० मतभार रहेको छ ।