गोदावरी नगरका ८ सडक को निर्माण कार्य सुरु, नगर प्रमुख भट्टद्वारा शिलान्यास

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजना (रुडुप) अन्तर्गत ढल निकास तथा सडक निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
गोदावरी नगरपालिका भित्र ८ ओटा विभिन्न वडाका सडक पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो ।
सडक तथा ढल निकास को कुल बजेटको पछिल्लो लागत ३२ करोड ५९ लाख बराबरको सडक निर्माण हुँदै गरेको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले निर्माण कार्यको शिलान्यास गरे । उनका अनुसार योजना छनोट, प्राविधिक मूल्यांकन र टेन्डर प्रक्रिया पूरा भएपछि आजबाट भौतिक निर्माण सुरु गरिएको हो ।
यस परियोजनाले नगरभित्रको शहरी पूर्वाधार सुदृढ बनाउँदै सडक, ढल निकास र सहायक संरचनामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।
परियोजनाका इन्जिनीयर भूपेन्द्र मण्डलका अनुसार परियोजनाको समयावधि विस्तारसँगै थप प्याकेजमा विभिन्न सडकखण्ड समावेश गरिएका छन् । तीमध्ये अत्तरिया रिङरोडसहित थप ८ सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने बाटो तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड प्रमुख छन् ।
नगरप्रमुख भट्टले नागरिकलाई धैर्य र सहयोगका लागि अपिल गर्दै भने, “निर्माणका क्रममा केही समय असुविधा हुन सक्छ । तर यो असुविधा स्थायी विकासका लागि हो। नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सबै नगरवासीको सहकार्य आवश्यक छ । पारदर्शिता र गुणस्तरमा हामी कुनै सम्झौता गर्नेछैनौं ।” गोदावरी नगरपालिकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.