कैलाली–४ : आश्वासन होइन, परिणाम खोजिरहेको क्षेत्र

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा देशभरजस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा पनि उम्मेदवारहरू प्रचारप्रचारमा व्यस्त छन् । तर प्रचारका नाराभन्दा पनि यहाँका नागरिकहरू वास्तविक परिवर्तनको अपेक्षामा छन् । तराई र पहाड दुवै भूगोल समेटिएको यो क्षेत्र जतिसुकै प्रतिनिधि आए पनि विकासको स्पष्ट फड्को मार्न नसकेको यथार्थ कसैबाट लुकेको छैन ।

कैलाली–४ को मुख्य समस्या भनेकै पूर्वाधार विकासको अभाव हो । सडक, पुल–पुलेसा, खानेपानी, सञ्चार जस्ता आधारभूत संरचना कमजोर हुँदा यहाँका नागरिकले सहज जीवन यापन गर्न पाएका छैनन् । तराई क्षेत्रमा केही ठाउँमा सडक कालोपत्रे भए पनि पहाडी भेग आज पनि कच्ची बाटोमै सीमित छ । वर्षायाममा यात्रा जोखिमपूर्ण बन्छ भने विकासका अवसरहरू आफैं बाटोमै अड्किन्छन् ।

पूर्वाधारकै अभावले यहाँका सम्भावनायुक्त पर्यटकीय क्षेत्रहरू पनि ओझेलमा परेका छन् । धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोदावरी क्षेत्र आजसम्म व्यवस्थित रूपमा विकास हुन सकेको छैन । उचित योजना, पहुँच मार्ग र प्रचारको कमीले गर्दा यो क्षेत्रले आफ्नो पहिचान बनाउन सकेको छैन, जसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्रमा परेको छ ।

यस क्षेत्रका अर्का जटिल समस्या जंगल फडानी र अव्यवस्थित बसोबास हुन् । योजनाबिनाको बसोबास विस्तारले वातावरणीय सन्तुलन बिगार्नुका साथै दीर्घकालीन जोखिम निम्त्याइरहेको छ । यस्ता विषयमा राज्यको स्पष्ट नीति र स्थानीय आवश्यकता अनुसारको कार्यान्वयन नहुँदा समस्या झनै जटिल बन्दै गएको छ ।

प्रतिनिधि सभामा जाने सांसदहरू नीति निर्माण गर्ने थलोमा पुग्ने भएकाले उनीहरू विकासका योजनामात्र होइन, नागरिकको हितमा दीर्घकालीन नीति निर्माण गर्न सक्षम हुनुपर्छ । कैलाली–४ का मुद्दा केवल स्थानीय होइनन्, यी राष्ट्रिय नीतिसँग जोडिएका विषय हुन । पर्यटन, वातावरण संरक्षण, समावेशी विकास र सन्तुलित पूर्वाधार विस्तार ।

यसपालि कैलाली–४ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धा धेरै हुनु सकारात्मक पक्ष हो, तर नागरिकहरू अब खाली आश्वासन सुन्न चाहँदैनन् । घोषणापत्र र भाषणभन्दा पनि व्यवहारिक योजना, स्पष्ट दृष्टिकोण र कार्यान्वयन गर्ने इच्छाशक्ति आवश्यक छ । उम्मेदवारहरू जनताबीच जाँदा सपना होइन, समाधान लिएर जानुपर्ने समय आएको छ ।

कैलाली–४ ले अब प्रतिनिधि होइन, परिणाम खोजिरहेको छ । चुनावी भीडभाड सकिएपछि पनि जनतासँगै उभिने, समस्या बुझ्ने र समाधानतर्फ अग्रसर हुने नेतृत्व नै यस क्षेत्रको वास्तविक आवश्यकता हो । यही चेतनाका साथ नागरिकले मतदान गर्ने र उम्मेदवारहरूले जिम्मेवारी बोध गर्ने हो भने मात्र कैलाली–४ को विकासले नयाँ गति लिन सक्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.