चुनावी चहलपहलले बढायो आर्थिक गतिविधि

धनगढी : आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहलले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको छ । चुनावको कारण चिया पसलदेखि छपाइ–प्रिन्टिङ पसल, आयल स्टोर, होटल लगायतमा आर्थिक गतिविधि बढेको देखिएको हो ।

चियाको चुस्की लिदैँ चुनावी छलफलदेखि लिएर होटलमा खाजा, खाना खानेहरूको सङ्ख्या बढेका छ । यसैगरी, उम्मेदवार र दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुटेपछि इन्धनको उपभोग बढेको छ ।

आसन्न चुनावले व्यापार, व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले बताए । उनले विभिन्न परिस्थिति, आन्दोलनका कारण शिथिल बनेको व्यापार, व्यवसाय यो चुनावको बेला गतिशील बनेको उल्लेख गरे ।

कोरोना महामारीले देशकै अर्थतन्त्र तहसनहस भएको थियो । कोरोना समस्या हटेलगत्तै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुख्य सडक निर्माणका लागि भएको तोडफोड र त्यसपछि निर्माणाधीन अवस्थाका कारण व्यापार, व्यवसाय थला परेको थियो । चुनावी सरगर्मीले धेरै हदसम्म व्यापार व्यवसाय बढाएको अध्यक्ष ओझाको भनाइ छ ।

यसैगरी, धनगढीमा होटल व्यवसाय गरिरहेका दहिटान घरका सञ्चालक विरेन्द्र चौधरीले पनि यो बेला व्यापार बढेको बताए। चुनावका बेला राजनीतिक दल र विशेषगरी उम्मेदवारले खर्च गर्ने गरेको स्थानीयको भनाइ छ । यसैबिच प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दैगएको बेला मतदाताले पनि चुनावी चर्चा गर्न थालेका छन् ।

बिहान–साँझ चिया पसल, होटलमा जमघट भएर उनीहरु पनि चुनावी चर्चा गर्न थालेका हुन् । चियाको चुस्कीसँगै मतदाताबाट जितहारको आँकलन मात्रै सुरु भएको छैन, राजनीतिक दलहरूले विगतमा गरेका बाँचा पनि उनीहरूले सम्झन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ जुनसुकै चुनावको बेला चर्चामा रहँदै आएको छ । यसपटक सबै दलहरुले नयाँ अनुहारको उम्मेदवार बनाएपछि चिया पसल, होटलमा जघमघट हुने र जितहारको विषयमा अडकलबाजी हुनेगरेको छ ।

धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँका भवानीदत्त भट्टले दलहरुले विगतमा गरेका प्रतिबद्धता कतिपय पूरा भए पनि जनताको अपेक्षानुसार काम नभएको बताए । नेपाली कांग्रेसबाट नरनारायण शाह मनु, एमालेबाट यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार छन । सबै उम्मेदवार जनतामाझ लोकप्रिय देखिएकाले कसले बाजी मार्ने भन्ने सवालमा अहिले केही भन्न नसकिने स्थानीय सन्तराम रानाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.