कैलाली–४ का स्वतन्त्र उम्मेदवार भट्टद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

स्वास्थ्य,रोजगार देखि कृषि सम्म गरी मुख्य ६ बुँदामा केन्द्रित वाचा

धनगढी : कैलाली क्षेत्र नं. ४ प्रतिनिधि सभा प्रत्यक्ष तर्फका एकल स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिबद्धता सार्वजनिक गर्दै उनले “नो सेटलमेन्ट, वनली डेभलपमेन्ट” एजेण्डा राखेका छन् । उक्त वाचा–पत्र स्वास्थ्य, उद्योग÷रोजगार, शिक्षा÷खेलकुद, पर्यटन, पूर्वाधार विकास र कृषि गरी मुख्य ६ आधार स्तम्भमा केन्द्रित रहेको छ ।

उम्मेदवार भट्टले कैलाली–४ को समग्र तथा दीगो विकासलाई लक्ष्य बनाउँदै आफूले कार्यान्वयन गर्न सक्ने योजनाहरू मात्र समेटिएको बताएका छन् । उनले यस क्षेत्र साथै सुदूरपश्चिम प्रदेशलाई आर्थिक, शैक्षिक, पर्यटकीय र पूर्वाधार विकासको दृष्टिले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रमा तर्फः स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकता दिँदै कैलाली–४ मा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई निःशुल्क उपचारको व्यवस्था मिलाउने, प्रत्येक वडामा महिनामा कम्तीमा एक पटक विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।

उद्योग तथा रोजगार तर्फः बढ्दो बेरोजगारी न्यूनीकरणका लागि कृषि, जडिबुटी, वन र ऊर्जामा आधारित उद्योग स्थापना गर्न आन्तरिक तथा बाह्य लगानी भित्र्याउने पहल गरिने उल्लेख गरिएको छ । अत्तरियामा पाँचतारे होटल सञ्चालनको वातावरण निर्माण, सुदूरपश्चिममा निर्यातमुखी उद्योग प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना तथा “एक घर–एक रोजगारी” अवधारणा अनुसार रोजगारी सेवा केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।

शिक्षा तथा खेलकुदमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरी सुविधासम्पन्न बनाउने, प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्ने, प्रत्येक विद्यालयमा उच्च गतिको इन्टरनेटसहित कम्प्युटर ल्याब सञ्चालन गर्ने, खेलमैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने र अन्तर्राष्ट्रिय स्तरको आविष्कार तथा नवप्रवर्तन (ए.आई.) केन्द्र स्थापना गर्ने योजना समेटिएको छ ।
पर्यटन विकास तर्फः कैलाली–४ भित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान र एकीकृत विकास गरिने जनाइएको छ । अत्तरियामा पर्यटन सूचना केन्द्र स्थापना, “भिजिट सुदूरपश्चिम” अभियान सञ्चालन, जनजातीय संस्कृति झल्कने होमस्टे प्रवद्र्धन, प्रशिक्षित गाइड उत्पादन तथा गोदावरी धामलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रचार–प्रसारमा जोड दिइने उल्लेख छ ।

पूर्वाधार विकास तर्फः क्षेत्रका मुख्य नदीहरूमा तटबन्ध निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिने, सडक सञ्जाललाई विकासको आधार मानी स्तरोन्नति गरिने, खानेपानी र विद्युत् सेवा विस्तार गरिने, बजार क्षेत्रलाई हरित तथा उज्यालो सहरका रूपमा विकास गरिने तथा अत्तरिया बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाइने योजना सार्वजनिक गरिएको छ ।
कृषि क्षेत्र तर्फः आधुनिक कृषि प्रविधिको विस्तार, सिंचाइ व्यवस्थापन सुदृढीकरण, कृषि उत्पादनको प्रशोधन र बजारीकरणमा जोड, किसानलाई सहुलियत ऋण तथा प्राविधिक सहयोग उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ । उम्मेदवार भट्टले प्रस्तुत प्रतिबद्धता–पत्र कार्यान्वयन योग्य र परिणाममुखी रहेको दाबी गरेका छन् ।

यस्तै अत्तरिया ६ लेन सडक खण्ड अत्यन्त व्यस्त तथा दुर्घटना बढी हुने जोखिम क्षेत्रका रूपमा परिचित रहेको उल्लेख गर्दै भट्टले पछिल्ला वर्षहरूमा यहाँ भएका सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएको र कैयौँ घाइते भएको तथ्यलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण आवश्यक रहेको बताएका हुन् । सार्वजनिक रूपमा जारी गरिएको आफ्नो प्रतिबद्धता पत्रमा दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गरिने बताए । विशेषगरी अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा पैदल यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न आकाशे पुल निर्माण अपरिहार्य भएको बताए ।
भट्टले स्थानीय नागरिक, विद्यार्थी, व्यापारी तथा दैनिक यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी योजना अघि बढाइने पनि स्पष्ट पारेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.