अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा शनिवार उज्यालो नेपाल पार्टीको चुनावी घोषणा सभा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख अतिथियतामा आयोजना गर्ने तय गरिएको कार्यक्रममा न्यून जनसहभागिता रहेको थियो भने कुलमान घिसिङ कार्यक्रममा सहभागी नै भएनन् ।
आयोजकले कार्यव्यस्तताका कारण कुलमान आउन नसकेको बताए पनि अत्तरियाको महोत्सव स्थलको ठुलो मैदानमा गरिएको कार्यक्रम जनसहभागिता न्यून हुँदा कुलमान नल्याइएको पार्टीकै केही नेताले बताएका छन् । कार्यक्रममा कुनमान घिसिङ नआएपछि पार्टीका उपाध्यक्ष एवम् जेनजी अगुवा राजेश प्रतेललाई प्रमुख अतिथि बनाएका सभा समापन गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै उनले जेन जी आन्दोलन पुराना भ्रष्टाचारीलाई फ्याँकेर नयाँ भ्रष्टाचारी ल्याउनका लागि नभएको भन्दै जनेजी आन्दोलनको भावना अनुसार काम नभएको बताए ।
‘जेन जी आन्दोलन मुलुकबाट भ्रष्टाचार हट्नुपर्छ भन्ने उद्देश्यका साथ भएको थियो’ उनले भने ‘अहिले नयाँ शक्ति हामी हो, हामी भ्रष्टाचार न्यूनीकरण गर्छौ भनेर आएका छन् । तर, उनीहरूका सभापति नै भ्रष्टाचारमा मुछिएका छन् ।’
उनले अब आफू जस्तो अङ्ग गुमाएर बस्न नपरोस् भन्नका लागि लहर, भीडको पछि नलागेर देश विकासको काम गर्ने पार्टीलाई जिताउन आवश्यक रहेको बताए । आफूले आफूलाई काम गरेर प्रमाणित व्यक्ति कुलमान घिसिङ भएकाले उनको नेतृत्व गरेको पार्टीलाई जिताउनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार सुवास कुँवरले अब पनि वादका पछि लागेर देश नबन्ने बताए । उनले गरिब र पछाडि परेका जनताको आवाज बन्ने प्रयास गर्नु भनेको राजनीति भएको बताउँदै वाद जाती धर्मका आधारमा विभाजित गरेर देश नबन्ने बताए ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका चन्द्र साउँदले आफूहरू सडकका मान्छे भएकाले, हारे पनि जिते पनि सडकमै रहने बताए । उनले आफूहरू जनताको भावना, आवश्यकताका लागि बोल्ने बताए । देश कालाबजारीया, माफियाको चुङ्गुलमा परेको बताउँदै त्यसबाट देशलाई निकाल्न आवश्यक रहेको बताए ।