सुदूरपश्चिम प्रदेश प्रमुखलाई सुरक्षा निकायको ब्रिफिङ

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई चार वटै सुरक्षा निकायका प्रमुखहरूले सुदूरपश्चिम प्रदेशको निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी गराएका छन् ।

शुपक्रबार प्रदेश प्रमुख निवासमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । उक्त भेटमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा कैलालीका प्रमुख जिल्ला अधिकारीको पनि उपस्थिति रहेको थियो ।

प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले प्रदेश एकीकृत सुरक्षा योजनाबारे जानकारी गराएका थिए । नेपाली सेनाका पृतनापति किरण केशीले सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको प्रदेश प्रमुखलाई बताएका थिए ।

‘हामीले केही समयअघिदेखि नै यस विषयमा निगरानी र चासो राखिरहेका छौँ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था ठीक छ । हामी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन खटिनेछौँ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए । उनले थप प्रहरी परिचालनदेखि निर्वाचन प्रहरीको अवस्थाबारे पनि प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए ।

उनले जेलबाट भागेका कैदीबन्दीहरूको बारेमा पनि प्रदेश प्रमुख मियाँलाई बताएका थिए । ‘जेलबाट भागेका कैदीबन्दीहरूबाट निर्वाचनमा अवाञ्छित गतिविधि हुन्छ कि भन्ने लाग्न सक्छ, तर अहिलेसम्मको अवस्थामा त्यस्तो देखिएको छैन,’ उनले भने, ‘हामीले उनीहरूको खोजी गरिरहेका छौँ । अधिकांश पुनः कारागार आइसकेका छन् । सम्पर्कविहीन भएका केही भारतमा रहेको बुझेका छौँ ।’

उनले ती व्यक्तिहरूका बारेमा घरपरिवार र समाजमा सोधपुछ भइरहेको जानकारी गराए । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कैलाली जिल्लाको निर्वाचन तयारीबारे जानकारी गराएका थिए । उनले मतपत्र ढुवानी गर्नेसम्मको तयारी भइरहेको भन्दै भयरहित अवस्थामा निर्वाचन सम्पन्न गराउन आफूहरू लागिरहेको बताए ।

खुला सीमाका कारण शान्ति–सुरक्षामा केही चुनौती रहेको उल्लेख गर्दै भारतीय पक्षसँग पनि समन्वय गरेर सीमा सुरक्षा बढाइएको उनले बताए ।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङपछि प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले देखाएको सतर्कताको उच्च प्रशंसा गरेका थिए । उनले नागरिकहरू पनि यस विषयमा सचेत हुनुपर्ने भन्दै सुरक्षाकर्मी र नागरिकको सहकार्यमा भयरहित निर्वाचन सम्पन्न गर्न सकिने बताएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.