धनगढी : कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्द चन्दलाई समर्थन गरेका छन् । यस अघि विष्टले रास्वपामा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
विष्टलाई आज धनगढी स्थित रास्वपाको सम्पर्क कार्यलयमा एक कार्यक्रमका बीच उम्मेदवार चन्दले स्वागत गरेका हुन् । कार्यक्रममा रास्वपाका उम्मेदवार चन्दले स्वतन्त्र उम्मेदवारी विष्टको समर्थन संगै जित सुनिश्चित भएको बताए ।
रास्वमा प्रवेश गर्दै विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपामा उम्मेदवार चन्दलाई समर्थन गरेको बताए । उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनुपर्ने बताए । ’मैलै व्यक्तिगत चाहना भन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको हुँ । सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली–५ मा मतदातामा अनुरोध गर्दछु,’ विष्टले भने ।
विष्टलाई पार्टीमा स्वागत गर्दै समानुपातिक उम्मेदवारसमेत रहेकी रास्वपा प्रदेश सह–महामन्त्री करिष्मा कठरियाले स्वतन्त्र उम्मेदवारी दिएका विष्टले उम्मेदवारी निष्कृय पारेर रास्वपामै फर्किनुलाई शुभ संकेतका रुपमा लिएको बताइन् । उनले रास्वपाले कैलालीका पाँच वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरेकी छन् ।
विष्ट यस अघि राष्ट्रिय पार्टीका कैलाली क्षेत्र ५ का सभापति थिए । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।