डडेल्धुरा : डडेल्धुरामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाले अन्य दलहरूलाई पछ्याई प्रत्यक्षभन्दा केही बढी मत ल्याएको हो । २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट सबैभन्दा बढी मत ल्याई विजयी हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको हो ।
यसअघिका ७ वटा निर्वाचन जितेको नेपाली कांग्रेस अहिले भने अपराजित यात्रा भोग्नु परेको छ । प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेको कांग्रेसले समानुपातिक मत पनि दोस्रो नै रहेको छ । यस अघिका सात वटै निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार रहेका थिए । तर यस पटक भने देउवा मतदान गर्न पनि डडेल्धुरा नआउँदा हार व्यहोर्नु परेको कांग्रेसका शुभचिन्तकको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाले १२ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८ सय ५१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ७ सय ७२, नेकपा (एमाले) ले ३ हजार २ सय ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो । त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका थिए भने २ हजार २५ मत बदर भएका छन् । यसअघि प्रत्यक्षतर्फ पनि डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए । उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए । जोशीसँग महर ७ हजार १० मतान्तरले पराजित भएका थिए ।
यसैगरी नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ६ हजार ४३८ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार डडेलधुरामा प्रत्यक्षतर्फ जम्मा ४५ हजार ९०९ मत खसेको थियो ।