टीकापुरमा इप्रकाकै छतबाट खसेर प्रहरी जवानको मृत्यु, घटनाको छानविन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

धनगढी । कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । सोमबार राति करीब ११ बजेतिर कार्यालय भवनको छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार चदारा बझाङको तलकोट गाउँपालिका १ का बासिन्दा हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ । तर, मृतकका परिवारले भने घटना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् । मृतककी भान्जी सुनिता आग्रीले घटना शंकास्पद देखिएको बताइन् । घटना हुनुभन्दा केही समय अगाडि घरमा परिवारसँग टेलिफोनमा कुराकानी भएको बताउदै उनले एकाएक बिरामी भएको भन्दै फोन आएको बताइन् ।

प्रहरीले परिवारका सदस्य पुग्न अगावै घटनास्थलबाट शव उठाएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । निष्पक्ष छानविन गर्दै घटनाको ययार्थ बाहिर नल्याएसम्म शव नउठाउने अडान लिइएको छ ।

घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन
प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएको जानकारी दिए ।

प्रहरी जवान चदारा छतबाट खसेर मृत्यु भएपछि एसपी चन्द स्वयं टीकापुर पुगेका छन् । उनले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् । मृतकका आफन्तले भने घटना शंकास्पद भएको बताएका छन् । उनीहरूले निष्पक्ष र वस्तुगत छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् । साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.