अत्तरिया : सुदूरपश्चिम प्रदेशको प्रमुख नेपाल–भारत सिमानाका त्रिनगर नाकामा बिहानैदेखि मानिसहरूको चहलपहल देखिन्छ । साना झोला बोकेका, हातमा कागजात समातेका र छेउमा परिवारका सदस्य उभिएका नागरिकहरूको भिडले यहाँको वातावरण सधैँजसो व्यस्त बनाइरहेको हुन्छ ।
निर्वाचनका बेला स्वदेश फर्किएका धेरै नेपाली अहिले मतदान सकिएलगत्तै फेरि भारततर्फ फर्किने क्रम बढेको छ ।
रोजगारी, उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली यो नाका हुँदै भारत जाने–आउने गर्छन् । खुला सिमानाका कारण यो आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या पनि सिर्जना गरिरहेको छ । कञ्चनपुरको महेन्द्रनगरका पदम पन्त त्रिनगर नाकामा भेटिए । उनी हातमा सानो झोला बोकेर केही साथीहरूसँग भारत फर्किने तयारीमा थिए ।
पन्त दुई महिनाअघि मात्रै नेपाल आएका थिए । उनी नेपाल फर्कनुको मुख्य कारण रोजगारी वा पारिवारिक भेटघाट नभई मतदान थियो । ‘यहाँ रोजगारीको सम्भावना छैन,’ उनले भने, ‘भारतमै काम गर्छु । दुई महिनाअघि मतदान गर्न मात्रै नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन लागिएको हो ।’ उनका अनुसार उनी भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गर्छन् । दैनिक ज्यालादारी कामबाट परिवार चलाउँदै आएका पन्तका लागि नेपाल बसाइभन्दा भारतको काम नै भरपर्दो आयस्रोत बनेको छ । उनले भने, ‘घर यहीँ हो, तर काम भने भारतमै छ । चुनाव हुँदा फर्किन्छौँ, भोट हाल्छौँ अनि फेरि कामतिर लाग्छौँ ।’
त्रिनगर नाकामै भेटिइन् अछामकी कल्सु साउँद । उनी पनि भारत जानका लागि लाइनमा उभिएकी थिइन् । तर उनको गन्तव्य रोजगारी होइन, स्वास्थ्य उपचार थियो । साउँद पहिले पनि भारतमै उपचार गराएर फर्किएकी थिइन् । निर्वाचनपछि देशमै उपचारको राम्रो व्यवस्था भएको छ कि भनेर केही समय कुर्न चाहेको उनले बताइन् । तर नियमित स्वास्थ्य परीक्षणका लागि अन्ततः फेरि भारत नै जानुपरेको उनको भनाइ छ ।
‘पहिला पनि भारतमै उपचार गराएको हुँ,’ उनले भनिन्, ‘मतदान गरेपछि नेपालमै जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।’ उनका अनुसार सुदूरपश्चिमका धेरै बिरामीहरू उपचारका लागि भारतका अस्पतालमा भर पर्छन् ।विशेषगरी किड्नी, मुटु, क्यान्सर वा जटिल रोगका उपचारका लागि भारतका सहरहरू सहज विकल्प मानिन्छन् ।
त्रिनगर नाकाको भिडमा धनगढीका चन्द्र सिंह भने केही अन्योलमा देखिन्थे । उनी आमाको उपचार गराएर धनगढी फर्किएका थिए । अहिले फेरि भारत फर्किने तयारीमा भए पनि उनीसँग आवश्यक नेपाली कागजात थिएन । उनको साथमा भारतीय आधार कार्ड मात्र थियो । भोटर कार्ड पनि नभएकाले भारतीय सीमा सुरक्षा बलले प्रवेशमा रोक लगाएको उनले बताए ।
‘आमालाई उपचार गराएर फर्किएको थिएँ । अहिले फेरि भारत जानुपर्ने थियो,’ उनले भने, ‘तर नागरिकता छैन, आधार कार्ड मात्रै छ । त्यसैले सीमा प्रहरीले जान नदिने भन्यो ।’ नाकामै रोकिएपछि उनी के गर्ने भन्ने अन्योलमा थिए । आवश्यक कागजात नभएकाले सीमापार गर्न नपाउँदा उनी जस्ता धेरै नागरिक समस्यामा पर्ने गरेका छन् ।
नेपाल–भारतबीच खुला सिमाना रहेको छ । दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । यही कारण सुदूरपश्चिमका नागरिकहरू दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । त्रिनगर नाका सुदूरपश्चिमको प्रमुख आवतजावत बिन्दु मानिन्छ । यहाँबाट दैनिक हजारौँ मानिस नेपाल–भारत आउजाउ गर्ने गर्छन् ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यो आवतजावत सामान्य जीवनशैलीकै हिस्सा बनेको छ । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने मानिसहरू पनि प्रशस्त भेटिन्छन् । हालै सम्पन्न निर्वाचनका कारण केही समयका लागि सीमामा फर्कने नेपालीहरूको संख्या बढेको थियो । भारतलगायत विभिन्न देशमा काम गर्ने नेपालीहरू मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने उनीहरू पुनः कामका लागि विदेश फर्किने क्रम बढेको छ ।
त्रिनगर नाकामा कार्यरत सुरक्षाकर्मीहरूका अनुसार पछिल्लो केही दिनयता भारत फर्किनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । विशेषगरी युवा तथा श्रमिक वर्गका मानिसहरू झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ । सुदूरपश्चिम प्रदेशबाट भारत जाने प्रमुख कारण रोजगारी हो । स्थानीयस्तरमा पर्याप्त रोजगारीको अवसर नहुँदा धेरै युवा भारतमा काम गर्न बाध्य छन् ।
निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीहरू काम गर्ने गर्छन् । कञ्चनपुर, कैलाली, दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ बाजुरालगायत जिल्लाबाट हजारौँ नागरिक भारतका विभिन्न सहरमा रोजगारीमा संलग्न रहने गरेका छन् । स्थानीय युवाहरूका अनुसार नेपालमा कामको अवसर कम हुनु र कमाइ पनि पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो ।
रोजगारी मात्र होइन, स्वास्थ्य उपचारका लागि पनि भारत जाने नेपालीहरूको संख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालहरूको अभाव छ । त्यसैले जटिल रोग लागेका बिरामीहरू प्रायः भारतका अस्पतालतर्फ जाने गर्छन् । धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गरेको स्थानीयहरू बताउँछन् ।
खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातको जाँच कडा बनाइएको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिएका उदाहरणहरू बढ्दै गएका छन् । त्रिनगर नाकामा भेटिएका केही यात्रुहरूका अनुसार पहिलेजस्तो सहज आवतजावत अहिले कम भएको छ । सुरक्षा कारणले सीमा प्रहरीहरूले कागजात जाँच गर्न थालेपछि कागजात नभएका मानिसहरूलाई समस्या हुने गरेको छ ।
त्रिनगर नाकामा देखिने भिडले सुदूरपश्चिमको सामाजिक र आर्थिक यथार्थ पनि झल्काउँछ । एकातिर रोजगारीका लागि भारत जाने युवाहरू छन् भने अर्कोतिर उपचारका लागि सीमापार गर्न बाध्य बिरामीहरू । कतिपय नागरिक भने कागजातको अभावले सीमामै रोकिने अवस्था पनि देखिन्छ । मतदान गर्नका लागि स्वदेश फर्किएका नागरिकहरू फेरि काम र जीवनयापनका लागि भारत फर्किनु सुदूरपश्चिमका सीमावर्ती क्षेत्रको सामान्य दृश्य बनेको छ ।
खुला सिमाना र पारिवारिक सम्बन्धका कारण नेपाल–भारतबीचको आवतजावत भविष्यमा पनि निरन्तर रहने देखिन्छ । तर यसका साथसाथै रोजगारीको अभाव, स्वास्थ्य सेवाको कमी र कागजात व्यवस्थापनजस्ता समस्याहरू समाधान गर्न नसके सीमावर्ती नागरिकहरूले यस्तै चुनौतीहरू भोगिरहनुपर्ने अवस्था कायम रहने स्थानीयहरू बताउँछन् ।