अत्तरिया : अन्तर्राष्ट्रिय रक्तदाता सम्मान प्राप्त गरेका रक्तदाता अभियन्ता दीपक उपाध्यायलाई सुन्दर सुदूरपश्चिम यातायात प्रालिले सम्मान गरेको छ। भारतको उत्तर प्रदेश अन्तर्गत सोनभद्र (दुद्धी) मा आयोजित ‘वीर बिरसा मुंडा अन्तर्राष्ट्रिय रक्तदाता सम्मान २०२६’ बाट सम्मानित उपाध्यायलाई एक कार्यक्रमबीच सम्मान गरिएको हो।
सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत तथा प्रालिका प्रेस सल्लाहकार रहेका उपाध्यायलाई संस्थाका अध्यक्ष पदमराज सापकोटा लगायत पदाधिकारी तथा कर्मचारीहरूले प्रशंसा–पत्र, नगद र फूलमालासहित सम्मान गर्दै बधाई दिएका छन्।
प्रालिले जारी गरेको शुभकामना सन्देशमा उपाध्यायले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सम्मानले संस्थाको प्रतिष्ठा उचो बनाएको उल्लेख गरिएको छ।
मानव सेवामा उनको निरन्तर समर्पण र रक्तदानप्रतिको योगदानलाई प्रेरणादायी भन्दै संस्थाले आगामी दिनमा अझ सफल र सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेको छ।