धनगढी : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।
यही चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।
उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
सो घटनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि हातपात गरिएको थियो । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ ।
स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।
गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा गरेका थिए ।