अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यतालिका अनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आईतबार धनगढीमा गरेको अर्ध वार्षिक प्रगति समक्षा कार्यक्रममा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयहरुका सचिवहरुको उपस्थिति रहेको थियो ।
‘हामीले गरेको कार्यतालिका अनुसार काम गर्न सकेनौँ’, उनले भने । ‘सबै मन्त्रालयले, सबै कार्यालयले कार्यतालिका अनुसार काम अगाडि बढाउनुपर्यो । युगौँयुग देखि चल्दै आएको परम्परामै अगाडि बढ्ने हो भने प्रश्नहरु तपाई हामी माझ उठ्ने नै हुन् र यसले गर्दा हामी संग जवाफ दिने ठाउँ रहदैन । केहि पनि नभएको भन्ने पनि होइन सुधार पनि भएका छन । तर, पर्याप्त भएन भन्ने हो ।’
काम गर्दा समस्याहरु छन् तर, समाधानको उपाय पनि रहेको बताउँदै मुख्यमन्त्री शाहले त्यसको पहिचान गर्न आवश्यक रहेको औल्याए । उनले अहिले नै जहाँ समस्या छन्, त्यहाँ समाधान पनि खोज्न प्रदेशका मन्त्रालयका सचिवहरुलाई दिर्नेशन दिएका छन् । मुख्यमन्त्री शाहले भने, ‘समस्या छन् । मन्त्रालयमा छलफल गर्नुहोस् । समाधान खोज्नुहोस् । भएन भने माथिल्लो निकायलाई जानकारी गराउनुहोस् ।’ पञ्छिएर हिड्ने प्रवृत्तिले समस्या सिर्जना गर्ने गरेको उनले बताए ।
कार्यक्रममा प्रदेशका मन्त्रालय, प्रदेश सभा, लोकसेवा आयोग लगायतका कार्यालयले आफ्नो अर्धवार्षिका प्रगति प्रस्तुत गरेका थिए ।