धनगढी : नेपाली कांग्रेसका ५७ जनाले पैसा खाएको भनेर नेकपा उम्मेदवार प्रेम आलेले आफूलाई सूची दिएको कांग्रेस उम्मेदवारको दाबीले कांग्रेसमा तरंग पैदा भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कैलाली–५ का उम्मेदवार नरनारायण शाह ‘मनु’ ले आलेले आफूलाई ५७ जनाको सूची दिएको बताएका थिए ।
‘चुनावमा तेस्रो भएका उम्मेदवार उहाँ स्वयंले आएर मलाई लिस्ट दिनुभयो । तपाईंप्रति मेरो सद्भाव छ, तपाईंका यी मान्छेले आर्थिक सहयोग लिएका हुन्, आइन्दा सतर्क रहनु भनेर भन्नु भएको थियो । पैसा खाने ५७ जना पदमा छन्’, मनुले कैलालीको धनगढीमा समर्पण मिडियालाई दिएको एक अन्तर्वार्तामा भनेका छन् ।
विगतमा आरजु देउवा समेत उम्मेदवार बनेको कैलाली ५ बाट रास्वपाका आनन्दबहादुर चन्द विजयी भएका थिए । कांग्रेस उम्मेदवार शाह दोस्रो र नेकपाका आले तेस्रो भएका थिए ।
पार्टीभित्रको अन्तर्घातले २१ स्थानमा चुनाव हारिएको निष्कर्ष कांग्रेसले निकालेको छ । प्रेम आलेले पनि यस विषयमा प्रतिक्रिया दिएका छन् । आलेले शाहको अभिव्यक्ति भ्रामक र कपोकल्पित भएको दाबी गरे ।