धनगढी : देशमा नयाँ सरकार गठन र पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षा निकायलाई हाई अलर्टमा बस्न सर्कुलर भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराका अनुसार देशमा विकसित अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनर गर्दै हाई अलर्टमा बस्न निर्देशन आएको जानकारी दिए । ‘आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ,’ उनले भने, ‘सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको छ ।’
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
‘पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको पक्राउपछि सुरक्षा चुनौती बढ्ने आशंका छ,’ प्रदेशका एक प्रहरी अधिकारीले भने, ‘पक्राउको विरोधमा प्रदर्शन र आन्दोलनलगायतका कार्यक्रम हुने देखिएपछि प्रदेशमा पनि हाई अलर्ट जारी भएको हो ।’
प्रदेश प्रहरी कार्यालयका अनुसार हुल तथा दंगा व्यवस्थापनसम्बन्धी अभ्यासहरू सञ्चालन गर्न पनि निर्देशन दिइएको छ । यस्तै, सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट पनि स्ट्यान्डबाई बस्न निर्देशन आएको जनाएको छ ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्दै बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।