धनगढी : धनगढी उपमहानगर उपमहानगरपालिकाले आफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निस्शुल्क रगत प्रदान गर्दै आएको छ । उपमहानगरले बिरामीलाई आवश्यक पर्ने रगत नि:शुल्क उपलब्ध गराउँदै आएको हो ।
आर्थिक वर्ष २०८१\८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराएको हो ।
उपमहानगरले आर्थिक वर्ष २०८१\८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
गत आर्थिक वर्षमा सरकारी तथा निजी अस्पतालमा उपचार गरेका बिरामीलाई रगत उपलब्ध गराएकोमा यो वर्षबाट सरकारी अस्पतालमा प्रदेश सरकारले रगत उपलब्ध गराउने नीति लिएकाले निजी अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको नगर प्रमुख गोपाल हमालले बताए । उनले बिरामीलाई जतिसुकै रगत आवश्यक परे पनि निःशुल्क उपलब्ध गराइरहेको बताए । उनले भने, गत आर्थिक वर्षमा एक जना बिरामीलाई ३३ पिन्ट रगत उपलब्ध गराइएको छ, जसका कारण बिरामीको करिब ३८ हजार बचत भएको छ ।
उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी रगत जनजाति समूहलाई आवश्यक परेको छ । निःशुल्क रगत लग्नेमा ४२४ जना जनजाति, १९५ जना ब्राह्मणरक्षेत्री, ४८ जना दलित, चार जना मधेसी तथा एक जना मुस्लिम र एक जना अन्यले निःशुल्क रगत सेवा पाएका छन् ।
उपमहानगरपालिकाले जीवन रक्षा गर्न आवश्यक रगत उपलब्ध गराए बापत नेपाल रेडक्रस धनगढी शाखालाई २४ लाख ४० हजार तीन सय रुपैयाँ भुक्तानी गरेको छ । नागरिकको स्वास्थ उपचारमा सहयोग पुगोस् भनेर निस्शुल्क रगत उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए ।