धनगढी । कञ्चनपुर र कैलालीमा खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट २४ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सोही नगरपालिका–२ उल्टाखाम बस्ने २७ वर्षीय टेकेन्द्र भण्डारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका–२ सम्झनाचोकबाट ३७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सोही गाउँपालिका–६ बस्ने ४२ वर्षीय मिनबहादुर डगौरालाई पनि आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बौनियाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी पक्राउ गरेको जनाएको छ।