धनगढी : कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका दुई समूहबीच भएको विवाद उग्र बन्दा प्रहरीमाथि समेत आक्रमण भएको छ। घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमल्सीनाका अनुसार जेठ १४ गते भएको झडप नियन्त्रण गर्न प्रहरी टोली घटनास्थल पुगेको थियो। तर, स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि नै आक्रमण भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाटको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल खटिएको थियो। सो क्रममा प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी सहायक निरीक्षक भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल तथा प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन्।
घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको छ। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै प्रहरी हवल्दार बुडालले प्रयोग गरेको मोटरसाइकलमा समेत क्षति पुगेको छ।
प्रहरीमाथि नै हातपात भएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिल विक्रम शाहको नेतृत्वमा थप १२ जना प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको थियो।
झडपमा स्थानीय ४० वर्षीय गोकर्ण बोहरा, ४५ वर्षीय रामचरण चौधरी र ४० वर्षीय नृप बोहरा पनि घाइते भएका छन्। गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलिप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको छ। प्रहरीले स्वरुप कठरियाले प्रयोग गरेको ना ३ त १४२७ नम्बरको ट्र्याक्टर समेत नियन्त्रणमा लिएको जनाएको छ।