धनगढी, १७ जेठ : लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजमा रहेको विभेद अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघले आइतबार धनगढीमा आयोजना गरेको ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित समाचार सम्प्रेषण र सञ्चारकर्मीको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले समुदायका आवाजलाई मूलधारको सञ्चारमाध्यममार्फत सशक्त रूपमा उठाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारीले मानव अधिकार, लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे । उनले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पहिचान प्रदान गरे पनि व्यवहारिक रूपमा अझै पूर्ण स्वीकार्यता प्राप्त गर्न नसकेको बताए ।
“यो समुदायको सामाजिक तथा राजनीतिक सहभागितामा अझै विभिन्न अवरोधहरू छन्,” उनले भने, “अहिलेसम्म समुदायको यकिन तथ्यांक समेत उपलब्ध नहुनु चुनौतीको विषय हो ।”
महासंघकी मनिसा ढकाल ले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा अधिकार सुनिश्चितताका लागि भइरहेका प्रयासबारे जानकारी गराएकी थिइन् ।
त्यसैगरी मनिला न्यौपाने ले शिक्षा, रोजगारी, स्वास्थ्य तथा राजनीतिक क्षेत्रमा समुदायको अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन नसकेको बताइन् । शिक्षामा हुने विभेदका कारण समुदायमा राजनीतिक चेतना र नेतृत्व विकाससमेत प्रभावित भएको उनको भनाइ थियो ।
कार्यक्रममा सिम्रन शेरचन ले ‘मिडिया र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार आन्दोलन’ विषयमा प्रस्तुति दिँदै समुदायका मुद्दा उजागर गर्न सञ्चारमाध्यमको भूमिका निर्णायक रहेको बताइन् । उनले समावेशी र संवेदनशील पत्रकारितामार्फत समुदायप्रति सकारात्मक सामाजिक दृष्टिकोण निर्माण गर्न सकिने धारणा व्यक्त गरिन् ।
छलफलमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र अधिकारमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई मूलधारको सञ्चारमा थप प्रभावकारी ढंगले उठाउने तथा समावेशी समाज निर्माणमा पत्रकारिताको भूमिकाबारे गम्भीर बहस सिर्जना गरेको आयोजकले जनाएको छ । कार्यक्रममा कैलाली लगायका जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।