काँग्रेस विवाद सतहमा : मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। यससँगै प्रदेश कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक असन्तुष्टि औपचारिक रूपमा सतहमा आएको छ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले हस्ताक्षर गरी मंगलबार संसदीय दलमा शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस स्रोतले जनाएको छ।

पछिल्लो समय मुख्यमन्त्री शाहको कार्यशैली र नेतृत्वप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको थियो। केही सांसदहरूले सार्वजनिक रूपमा नै नेतृत्व परिवर्तनको माग गर्दै उनको राजीनामा मागेका थिए। बढ्दो दबाबबीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको बताएका थिए।

त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान अघि बढाएको थियो। आवश्यक समर्थन जुटाएपछि संसदीय दलमा औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

अविश्वास प्रस्ताव दर्ता भएसँगै अब नेपाली कांग्रेस संसदीय दलको बैठक निर्णायक बन्ने देखिएको छ। बैठकले वर्तमान नेतृत्वलाई निरन्तरता दिने वा नयाँ नेता चयन गर्ने विषयमा निर्णय गर्नेछ।

यस घटनाक्रमले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व, सत्ता समीकरण र प्रदेशको समग्र राजनीतिक दिशाबारे नयाँ बहस तथा चासो उत्पन्न गरेको छ। कांग्रेसभित्रको यो विवादले प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक रणनीतिमा समेत प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.