अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गरेको छ। प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमल बहादुर शाह ले सिफारिस समितिको निर्णयअनुसार नेपाललाई कुलपतिमा नियुक्त गरेका हुन्।
त्यस्तै, उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल तथा सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन्। प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैरलाई जिम्मेवारी दिइएको छ।
यसअघि नै प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नेतृत्व चयनसँगै प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक सम्पदाको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएसँगै आफ्ना कार्यक्रम तथा योजनाहरूलाई थप व्यवस्थित र परिणाममुखी ढंगले अगाडि बढाउने विश्वास गरिएको छ।
नवनियुक्त पदाधिकारीहरूले सुदूरपश्चिमको मौलिक भाषा, कला, संस्कृति र साहित्यको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै प्रतिष्ठानलाई प्रदेशको बौद्धिक केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।