कमल शाहलाई फेर्न गरिएको हस्ताक्षर निष्क्रिय भएको कांग्रेस संसदीय दलको ठहर

धनगढी  : नेपाली कांग्रेस संसदीय दल, सुदूरपश्चिम प्रदेशको ४८औँ बैठक दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ । बैठकले समसामयिक राजनीतिक विषयहरूमा महत्वपूर्ण निर्णय गर्दै दल पूर्ण रूपमा एकताबद्ध रहेको सन्देश दिएको छ ।

बैठकमा प्रदेश सभा सदस्य मानबहादुर रावल, दिवान सिंह विष्ट लगायत सदस्यहरूको २०८३ जेठ ८ गतेको हस्ताक्षर सहितको निवेदनमाथि छलफल गरिएको थियो । बैठकले २०८३ जेठ १७ गते १२ जना प्रदेश सभा सदस्यहरूको उपस्थितिमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै आगामी बजेट निर्माण गर्ने निर्णय गरिसकेको सन्दर्भमा उक्त हस्ताक्षर स्वतः निष्क्रिय भएको निष्कर्ष निकालेको जनाएको छ ।

बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थिति, नेपाली कांग्रेसको ऐतिहासिक भूमिका तथा समकालीन जिम्मेवारीबारे पनि विस्तृत छलफल गरेको थियो । छलफलका क्रममा जनताप्रति उत्तरदायी, जवाफदेही तथा लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै पार्टीभित्रको एकतालाई थप मजबुत बनाउनु आजको आवश्यकता रहेकोमा सहभागीहरू एकमत भएका थिए ।

त्यसैगरी, पार्टीभित्र देखिएका विमति र फरक मतहरूलाई संवाद, छलफल तथा सहमतिका माध्यमबाट समाधान गर्दै अगाडि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
बैठकले नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश पूर्णरूपमा एकताबद्ध रहेको उल्लेख गर्दै जनताको हित, प्रदेशको समृद्धि तथा पार्टीको गौरवका लागि सबै सांसदहरू दृढ, जिम्मेवार र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.