अत्तरिया : गोदावरी नगरपालिका र चुरे गाउँपालिकाको समन्वयमा मर्सी कोप्र्स नेपाल तथा सेवक–नेपाल कैलालीको सहकार्यमा आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन कार्यक्रम (एम–रेड) अन्तर्गत विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु गरिएको छ ।
अत्तरियामा बिहिबार देखि संचालन गरिएको तालिम जेठ २७ गते सम्म सञ्चालन हुने भएको छ ।
गोदावरी नगरपालिका वडा नं १२ का वडाध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा सञ्चालित कार्यक्रमको गोदावरी नगरपालिका नगर उप–प्रमुख शारदा देवी रोकायाले उद्घाटन गरेका हुन् । यस्तै अतिथिमा कार्यक्रममा गोदावरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्का सहभागिता रहेको थियो ।
कार्यक्रममा विपद्, बाढी, आगलागी लगायतका प्राकृतिक घटनाबाट जोगिने उपाय, जोखिम व्यवस्थापन तथा विपद्को समयमा प्रयोग गरिने उपकरण सम्बन्धी आधारभूत तालिम सञ्चालन गरिएको छ । तालिममा सम्भावित विपद्का घटनाको पूर्वतयारी, जोखिम न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनका साथै विपद्को समयमा आवश्यक उपकरणको सुरक्षित र प्रभावकारी प्रयोगबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको छ । विपद्लाई प्रभावकारी रूपमा सामना गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम संचालन भैरहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका उप–प्रमुख शारदा देवी रोकायाले यस्ता तालिमले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले तालिममा सहभागी स्वयंसेवकहरूलाई प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
रोकायाले मौसम विभागका पूर्वानुमान तथा सूचनाको आधारमा खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलका स्वयंसेवकहरूले समयमै सूचना प्रवाह गर्नुपर्ने तथा आवश्यक पर्दा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
तालिममा सहभागी स्वयंसेवकहरूले पनि तालिमबाट हासिल गरेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै आफ्नो क्षेत्रमा आइपर्ने विपद्का समयमा प्रभावकारी उद्धारमा विश्वस्त रहेको बताइन् ।
यस्तै तालिमको सञ्चालनको बारेमा जानकारी दिँदै सेवक नेपाल कैलालीका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको पाठ्यक्रम अनुसार समुदाय स्तरमा गठन भएका खोज तथा उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदलका सदस्यहरूलाई लक्षित गरी सात दिने तालिम सञ्चालन भइरहेको बताए । तालिममा गोदावरी नगरपालिका–१२ का कोलमुडा र चौकी समुदाय तथा चुरे गाउँपालिका–३ को बसर समुदाय र वडा नं. ६ को गजा समुदायबाट ६÷६ जनाका समूह बनाएर जम्मा २४ जना सहभागी रहेका छन् । तालिम अवधिभर विपद् व्यवस्थापनसँग सम्बन्धित २१ वटा विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिनुका साथै १७ वटा विषयमा व्यावहारिक अभ्यास समेत गराइने जनाइएको छ । विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने, समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने तथा विपद्को प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाकारी दिए ्।
तालिममा लक्ष्मण दत्त भट्ट, रतन टमट्टा, चन्द्र साउद, सरस्वती भाट, दीप राज चटौट प्रशिक्षकहरुद्वारा प्रशिक्षण हुँदै आईरहेको छ ।
उद्घाटनको कार्यक्रमको सञ्चालन सेवक नेपाल कैलालीका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले गरेका थिए । भने स्वागत् मन्तव्य सचिब दल ओलीले गरेका थिए ।