धनगढी : राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ राष्ट्रिय महाधिवेशनबाट रमेश बहादुर कोली अध्यक्षमा निर्वाचित भएका छन्।
धनगढीमा बिहीबार सम्पन्न महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी पर्वत सुनारलाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचन समितिका संयोजक हिमालयन विक्रम विष्टका अनुसार अध्यक्ष पदका लागि खसेको ३६ मतमध्ये कोलीले २५ मत प्राप्त गरेका थिए भने पर्वत सुनारले १० मत पाए। एक मत बदर भएको थियो। महासंघका अन्य सबै पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष (खुला) मा शिबि लुहार, महिला उपाध्यक्षमा इन्दिरा ताम्राकार, महासचिवमा तुलाराम सार्की, कोषाध्यक्षमा सन्जु नेपाली तथा सचिवहरूमा लालविर सार्की र प्रसाद नेपाली निर्विरोध चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा राजुराम भुल, कौशिला दमाई, जगदिश कुमार चुनारा, जयलाल विक, रोशनी कुमार सुनार, मानवती वड, तिलसरा विक र चन्द्रकला कामी निर्विरोध निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको रहने महासंघले जनाएको छ।
यसअघि महाधिवेशनको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा ले गरेका थिए। कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महाधिवेशनले मुक्त हलिया समुदायका हक–अधिकार, सामाजिक न्याय, आर्थिक सशक्तीकरण तथा राज्यका विभिन्न तहमा समुदायको प्रतिनिधित्व बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित अध्यक्ष कोलीले पनि मुक्त हलिया समुदायका बाँकी समस्या समाधान, पुनःस्थापना, रोजगारी तथा अधिकार सुनिश्चितताका लागि महासंघलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।