राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमको अध्यक्षमा भट्ट निर्विरोध चयन

धनगढी  : राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा नन्दराज भट्ट निर्विरोध चयन भएका छन्। प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै महासंघले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशी विकासका लागि नयाँ कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

अधिवेशनबाट उपाध्यक्षमा निर्मला विष्ट, सचिवमा प्रेम बोहरा, सहसचिवमा रामप्रसाद जोशी तथा कोषाध्यक्षमा चेतराज भट्ट चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा कमलसिंह धामी, शान्ति मल्ल, विष्णुरूपा आचार्य, नरेन्द्र विष्ट, गौरीशंकर चौधरी, मीना खत्री, दुर्गाकुमारी थापा र अंकित जोशी निर्विरोध चयन भएका छन्।

निर्वाचन अधिकृत गम्भीरसिंह ऐरका अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। महासंघका केन्द्रीय कोषाध्यक्ष रमेशकुमार बस्नेत र केन्द्रीय सदस्य अर्जुन रावलको उपस्थितिमा सम्पन्न अधिवेशनले सुदूरपश्चिम प्रदेशमा महासंघको संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

महासंघका केन्द्रीय कोषाध्यक्ष बस्नेतले गत वर्ष कृष्ण धमलाको नेतृत्वमा गठन गरिएको प्रदेश समिति विधानविपरीत रहेको निष्कर्षपछि केन्द्रले मान्यता नदिएको र त्यसैको परिणामस्वरूप नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष नन्दराज भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका करिब ७० हजार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न महासंघले सक्रिय भूमिका खेल्ने बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा जीविकोपार्जनका अवसरमा पहुँच विस्तार गर्न पहल गरिने उल्लेख गर्दै अपाङ्गतामैत्री नीति निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सरकार तथा सरोकारवाला निकायसँग निरन्तर वकालत गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा स्थापित गर्न, आत्मनिर्भरता अभिवृद्धि गर्न तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माण गर्न नयाँ कार्यसमितिले विशेष प्राथमिकताका साथ काम गर्ने बताए।

सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशी विकासका लागि नयाँ नेतृत्व चयनसँगै महासंघले प्रदेशभर आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.