अत्तरिया : गेटा आँखा अस्पताल संघर्ष समितिले अस्पतालमा देखिएका विभिन्न समस्या समाधान तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन १२ बुँदे मागपत्र सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समितिले अस्पतालभित्र बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गर्न, कर्मचारीमाथि हुने दमन तथा विभेदपूर्ण व्यवहार रोक्न र स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवा–सुविधा तथा बढुवाको सुनिश्चितता गर्न माग गरेको छ।
संघर्ष समितिका अनुसार अस्पतालको समग्र व्यवस्थापन सुधारका लागि केही कर्मचारीमाथि आवश्यक कारबाही तथा बर्खास्ती प्रक्रिया अघि बढाउनुपर्ने, रिक्त चिकित्सक पदहरूमा तत्काल पदपूर्ति गर्नुपर्ने र हाल कार्यरत व्यवस्थापन समितिका सदस्यहरूले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिनुपर्ने आवश्यकता रहेको छ।
त्यसैगरी, अस्पतालको व्यवस्थापन समितिमा अध्यक्षसहित कम्तीमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको ठेक्काप्रथा अन्त्य गर्नुपर्ने तथा जनशक्ति अभाव हटाउन आवश्यक कर्मचारी तत्काल नियुक्त गर्नुपर्ने माग गरिएको छ।
समितिले अस्पतालमा शुद्ध खानेपानी र पर्याप्त शौचालयको व्यवस्था गर्न, बिरामी तथा सेवाग्राहीप्रति गरिने रुखो तथा अमर्यादित व्यवहार बन्द गर्न र संस्थाको आय–व्यय विवरण नियमित रूपमा सार्वजनिक गरी पारदर्शिता कायम गर्न पनि जोड दिएको छ।
‘हाम्रा मागहरू पूरा गर’ भन्ने नारासहित सार्वजनिक गरिएको उक्त मागपत्र संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जनाएको छ। समितिले मागहरू समयमै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
गेटा आँखा अस्पताल सुदूरपश्चिमकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक भएकाले त्यहाँको व्यवस्थापन, सेवा गुणस्तर र कर्मचारी अधिकारसँग सम्बन्धित विषयलाई गम्भीर रूपमा लिनुपर्ने स्थानीय सरोकारवालाहरूले बताएका छन्।