धनगढी : कैलालीका दुई फरक स्थानमा आइतबार साँझ दुई जना अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले दुवै मृत्युका कारणबारे अनुसन्धान तीव्र बनाएको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणीघाट नजिक मोहना नदी किनारमा एक पुरुषको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
यस्तै, लम्कीचुहा नगरपालिका–३ बल्चौर क्षेत्रमा रहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा पनि करिब ४० देखि ४५ वर्ष उमेरका जस्तो देखिने अर्का एक अज्ञात पुरुष मृत अवस्थामा भेटिएका छन्।
एकै दिन जिल्लाका दुई फरक स्थानमा अज्ञात व्यक्तिको शव फेला परेपछि स्थानीयवासीमा चासो र जिज्ञासा बढेको छ। मृतकहरूको पहिचान खुलाउने तथा मृत्युको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।