कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कञ्चनपुरको जिल्ला सभापतिमा पदमबहादुर विष्ट पुनः निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार विष्टले १९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नवीनबहादुर चन्दलाई १३६ मतान्तरले पराजित गरे। चन्दले ६१ मत प्राप्त गरेका थिए। विष्ट यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारीमा रहेका थिए।
उपसभापति पदमा भागरथी बडाल निर्विरोध निर्वाचित हुँदा सहसचिव पदमा यज्ञराज जोशी पनि निर्विरोध चयन भएका छन्।
यसैगरी सचिव पदमा राकेशबहादुर चन्द विजयी भएका छन्। उनले १९५ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामदत्त भट्टलाई पराजित गरे। भट्टले ५५ मत प्राप्त गरेका थिए। जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कुल २५९ मत खसेको थियो।
रास्वपा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदका लागि समेत मतदान भएको थियो। उक्त निर्वाचनमा अम्बादत्त जोशी १२६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए।
सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि पार्टीले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गरेको हो। नवनिर्वाचित सचिव राकेशबहादुर चन्दले नयाँ नेतृत्वले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जिल्लाभर रास्वपाका गतिविधिलाई प्रभावकारी र जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
पार्टीभित्र प्रतिस्पर्धात्मक तर शान्तिपूर्ण वातावरणमा सम्पन्न निर्वाचनले कञ्चनपुरमा रास्वपाको संगठनात्मक आधार थप सुदृढ बनेको संकेत गरेको नेताहरूको भनाइ छ। नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टी विस्तार, संगठन सुदृढीकरण र जनसम्पर्क अभियानलाई तीव्रता दिने अपेक्षा गरिएको छ।