गेटा आँखा अस्पतालमा आन्दोलन दोस्रो दिन पनि जारी, व्यवस्थापन सुधार र स्थानीय सहभागिताको माग

अत्तरिया  : गेटा आँखा अस्पताल सुधारका विभिन्न माग राख्दै गठन गरिएको गेटा आँखा अस्पताल संघर्ष समितिले सुरु गरेको आन्दोलन दोस्रो दिन पनि निरन्तर जारी राखेको छ। आन्दोलनको दोस्रो दिन समितिका पदाधिकारी तथा समर्थकहरूले अस्पतालको मूल गेट अगाडि टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।

गणेश विष्टको संयोजकत्वमा रहेको समितिले अस्पतालभित्र बढ्दो राजनीतिक हस्तक्षेप, कर्मचारीमाथि हुने दमन तथा व्यवस्थापकीय कमजोरीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि दबाबमूलक आन्दोलन थालेको जनाएको छ।

समितिले अस्पतालभित्र राजनीति बन्द गर्न, कर्मचारीमाथिको दमन अन्त्य गर्न, स्वास्थ्यकर्मीको सेवा–सुविधा र बढुवा सुनिश्चित गर्न तथा दीर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई पदमुक्त गर्न माग गरेको छ।

त्यसैगरी अस्पतालको व्यवस्थापन समितिमा अध्यक्षसहित ५० प्रतिशत स्थानीय प्रतिनिधित्व सुनिश्चित गर्न, रिक्त चिकित्सक पदमा तत्काल नियुक्ति गर्न तथा वर्तमान व्यवस्थापन समितिका सदस्यहरूले राजीनामा दिनुपर्ने माग पनि अघि सारिएको छ। कर्मचारीद्वारा हुने भनिएको गैरकानुनी ठेक्का प्रथाको अन्त्य गर्नुपर्ने समितिको अर्को प्रमुख माग रहेको छ।

संघर्ष समितिले अस्पतालमा आवश्यक कर्मचारीको तत्काल पदपूर्ति, शुद्ध खानेपानी र पर्याप्त शौचालयको व्यवस्था, बिरामीप्रतिको रुखो व्यवहार अन्त्य तथा अस्पतालको आय–व्यय विवरण सार्वजनिक गर्न पनि माग गरेको छ।

आन्दोलनका क्रममा समितिका संयोजक गणेश विष्टले अस्पतालको सेवा, व्यवस्थापन र पारदर्शितासँग सम्बन्धित मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनले मागप्रति सम्बन्धित निकाय गम्भीर नबने थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए।

स्थानीय तहमा महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा रहेको गेटा आँखा अस्पतालमा देखिएका समस्या समाधान र सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि आन्दोलनरत पक्ष र व्यवस्थापनबीच संवाद आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.