प्रदेश सरकारका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नियुक्त गरिएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुखको उपस्थितिमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरू विक्रम सिंह धामी, बेलबहादुर राना तथा मानबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। धामीले आर्थिक मामिला मन्त्रालय, रानाले सामाजिक विकास मन्त्रालय तथा रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यस्तै, जुना दानीले अर्थ राज्यमन्त्री तथा मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक असन्तुष्टि र शक्ति सन्तुलनको विवाद व्यवस्थापन गर्न मन्त्रिपरिषद् हेरफेर गरेको बताइएको छ। नयाँ नियुक्तिसँगै कांग्रेसभित्र विभिन्न समूहबीचको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको राजनीतिक वृत्तमा चर्चा छ।

मन्त्रिपरिषद् पुनर्गठनपछि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ। नयाँ मन्त्री र राज्यमन्त्रीहरूको नियुक्तिले प्रदेश सरकारभित्रको शक्ति समीकरणमा समेत नयाँ सन्तुलन ल्याउने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको पछिल्लो फेरबदललाई कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फको महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.