गेटा आँखा अस्पतालको बेथितिविरुद्ध आन्दोलन चर्किँदै

धनगढी  : कैलालीस्थित गेटा आँखा अस्पतालमा देखिएको भनिएको बेथिति, मनोमानी कार्यशैली र व्यवस्थापकीय कमजोरीको विरोधमा स्थानीयवासी तथा सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाएका छन् । आन्दोलनको निरन्तरता स्वरूप बुधबार अस्पतालको मूल गेट अगाडि सिटी बजाएर विरोध प्रदर्शन गरिएको हो ।

गेटा आँखा अस्पतालको बेथितिविरुद्ध गठन गरिएको सङ्घर्ष समितिले जेठ १९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनरत पक्षले अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुधारका माग अघि सारेका छन् ।
सङ्घर्ष समितिका संयोजक गणेशराज विष्टले आन्दोलनको सुरुवात आफूहरूले नभई अस्पताल प्रशासन र कर्मचारीबीचको विवाद तथा व्यवस्थापनको कमजोरीका कारण भएको दाबी गरे। उनले अस्पतालभित्र देखिएका विभिन्न समस्याको दीर्घकालीन समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । “हामी अस्पताल बन्द गराउने पक्षमा छैनौँ । अस्पतालको सेवा प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले आन्दोलन गरिरहेका छौँ,” उनले भने ।

उपसंयोजक रामचन्द्र भट्टले अस्पतालभित्र मौलाएको बेथिति, बेसङ्गति र मनोमानी कार्यशैलीविरुद्ध स्थानीयवासी सचेत र एकजुट भएको बताए । उनका अनुसार आन्दोलनको मुख्य उद्देश्य सेवाग्राहीलाई कुनै असर नपर्ने गरी सरोकारवाला निकायलाई समस्याप्रति गम्भीर बनाउन दबाब सिर्जना गर्नु हो ।

उनले गेटा आँखा अस्पतालको प्रभाव र योगदानका कारण देशका विभिन्न स्थानमा रहेका आँखा अस्पतालहरू सञ्चालनमा सहयोग पुगेको उल्लेख गर्दै अस्पतालको व्यवस्थापनमा स्थानीय समुदायको उचित प्रतिनिधित्व हुनुपर्ने माग गरे । साथै, नेत्र ज्योति सङ्घको आजीवन सदस्यतामा स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।

सङ्घर्ष समितिका सचिव भरत खड्काले आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सिटी बजाएर प्रतीकात्मक विरोध गरिएको बताए । “हामीले उठाएका विषयको सुनुवाइ होस्, व्यवस्थापन समिति र सरोकारवाला निकाय जिम्मेवार बनून् भन्ने उद्देश्यले आजको प्रदर्शन गरिएको हो,” उनले भने ।

स्थानीय सिद्धराज भट्टले अस्पतालसँग सम्बन्धित अधिकांश निर्णय केन्द्रबाट हुने भएकाले स्थानीय आवश्यकताअनुसार काम हुन नसकेको बताए । स्थानीय सहभागिताको अभावले अस्पतालमा समस्या बढ्दै गएको उनको आरोप छ ।

“अस्पतालभित्रको बेथिति अन्त्य हुनुपर्छ। स्थानीय नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने हाम्रो मुख्य माग हो,” उनले भने।
यसअघि मंगलबार आन्दोलनकारीहरूले शंख फुकेर विरोध प्रदर्शन गरेका थिए । कालो पट्टी बाँधेर आन्दोलन गरिरहेका स्थानीयवासी र सङ्घर्ष समितिका पदाधिकारीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
स्थानीय समुदायको बढ्दो असन्तुष्टि र निरन्तर आन्दोलनका बीच गेटा आँखा अस्पतालको व्यवस्थापन तथा सम्बन्धित निकायले समस्याको समाधानका लागि कस्तो कदम चाल्छन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.