धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
प्रदेश सभाको शुक्रबार बसेको बैठकले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो। सभामुख भीमबहादुर भण्डारीले बैठकमा नीति तथा कार्यक्रम पारित भएको औपचारिक घोषणा गरेका हुन ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासा र सुझावहरूको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभा सदस्यहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै आगामी बजेट निर्माण गरिने बताए। उनले कार्यान्वयन हुन सक्ने योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिने स्पष्ट पारे।
मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि नीति, ऐन तथा कानुन निर्माणमा सरकार र संसद् एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । विकासका योजनालाई प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले परिणाममुखी शासन प्रणालीलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।
प्रदेश सरकारले गत जेठ १८ गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षामा गुणस्तरीय सुधार, कृषिको यान्त्रिकीकरण, स्वास्थ्य सेवाको विस्तार तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिएको छ।
यसैबीच, प्रदेश सभाको अर्को बैठक भोलि बेलुकी ५ बजे बस्ने भएको छ। बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै अब प्रदेशको ध्यान बजेट निर्माण र विकास योजनाको कार्यान्वयनतर्फ केन्द्रित भएको छ।