अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले जेष्ठ नागरिक तथा चौधरी–राना समुदायका भक्तजनहरूका लागि धार्मिक तीर्थयात्रा कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा कौशल्यामाता सत्संग आश्रमको आयोजनामा नेपालका धार्मिक क्षेत्र देवघाट, जनकपुर, लुम्बिनी लगायतका प्रमुख धार्मिक स्थलहरूको भ्रमणका लागि विशेष व्यवस्था गरेको हो ।
गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले तीर्थयात्रामा सहभागी भलमन्सा तथा भक्तजनहरूलाई खादा लगाई बिदाइ गर्दै शुभयात्रा एवं सफल यात्राको कामना गरे । उनले नगरवासीको धार्मिक आस्था र सामाजिक एकतालाई मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टले पनि सम्पूर्ण सहभागी भक्तजनहरूलाई सुरक्षित, सफल र शुभ यात्राको शुभकामना व्यक्त गरे ।
नगरपालिकाले सञ्चालन गरेको यस धार्मिक तीर्थयात्राले जेष्ठ नागरिकहरूलाई धार्मिक अनुभवसँगै मानसिक सन्तुष्टि र सामाजिक सम्मानको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।