गोदावरीमा वन अतिक्रमण हटाउने क्रममा भिरबाट खसालिएको टेम्पोको वास्तकविकता के हो ?

धनगढी  : कैलालीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा एक टेम्पो भिरबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना चर्चामा आएको छ। टेम्पो धकेल्दै भिरमा खसालिएको दृश्य सार्वजनिक भएपछि स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ।

गोदावरी नगरपालिका–४ बासपानी निवासी धनादेवी धामीले डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले आफ्नो टेम्पो सडकछेउबाट हटाउने नाममा भिरबाट खसालिदिएको आरोप लगाएकी छन्। उनका अनुसार गाईमारेडाँडास्थित सडक किनारमा राखिएको टेम्पोबाट सामान झारेर कर्मचारीहरूले जबर्जस्ती भिरमा खसालिदिएका हुन्।

“हामीले गाडी आफैं घर लैजान्छौँ भनेका थियौँ, तर कसैले हाम्रो कुरा सुनेन,” धामीले गुनासो गर्दै भनिन्, “मजदुरी गरेर किनिएको गाडी यसरी नष्ट गरियो। म अहिले पनि त्यसको कर तिरिरहेकी छु। हामी दैनिक यही टेम्पो चलाएर घर लैजाने र बिहान फेरि ल्याउने गर्थ्यौँ।”

वन कार्यालयले भने उक्त टेम्पो वन क्षेत्र अतिक्रमण गरेर बनाइएको अस्थायी संरचनाको भागका रूपमा प्रयोग भइरहेको दाबी गरेको छ। सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराका अनुसार टेम्पो लामो समयदेखि कवाडसरह अवस्थामा थियो र त्यसलाई खोकाको रूपमा प्रयोग गरी पसल सञ्चालन गरिएको थियो।

“उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको थियो,” बोहराले भने, “चल्ने अवस्थाको गाडी नभई कवाड भइसकेको टेम्पोलाई संरचनाका रूपमा प्रयोग गरिएको थियो। पुनः वन अतिक्रमण गरेर राखिएपछि अभियानअन्तर्गत हटाइएको हो।”

वन कार्यालयका अनुसार पछिल्लो अतिक्रमण हटाउने अभियानमा विभिन्न स्थानबाट ४७ वटा अवैध संरचना हटाइएको छ। तर टेम्पो हटाउने क्रममा अपनाइएको तरिका उचित थियो कि थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोपछि वन संरक्षण र नागरिकको सम्पत्तिको अधिकारबीच सन्तुलन कायम गर्ने विषयमा बहस समेत सुरु भएको छ। स्थानीयवासीले अतिक्रमण हटाउने कार्य आवश्यक भए पनि निजी सम्पत्ति नष्ट गर्ने शैली स्वीकार्य नहुने बताएका छन्।

घटनाबारे थप अनुसन्धान तथा आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.